काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ अडान लिएको बताएका छन्। काठमाडौं–५ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले सामाजिक सद्भावका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गरे।
पोखरेलले नेपाल बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधतायुक्त मुलुक भएको बताउँदै यसलाई कमजोर पार्ने कुनै पनि प्रयास गलत हुने स्पष्ट पारे। “देशलाई बिथोल्न खोज्ने तत्वहरूलाई अन्त्य गर्नुपर्छ भन्ने एमालेको स्पष्ट अडान छ,” उनले भने।
उनका अनुसार एमालेले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, स्वरोजगारी, सामाजिक सुरक्षा, कृषि, उद्योग, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउँदै आएको छ।
एमालेले देश निर्माणका लागि विशेष अभियानअन्तर्गत थुप्रै विकास आयोजना अघि बढाएको स्मरण गराउँदै उनले कतिपय आयोजना बीचमै अलपत्र परेकाले तिनलाई पुनः अघि बढाउने संकल्प पार्टीले लिएको बताए। “विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्न एमाले प्रतिबद्ध छ,” उनले जोड दिए।
उनले २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ मै सामान्य रूपमा हुन लागेको अवस्थालाई मुलुकको लोकतान्त्रिक र संवैधानिक प्रक्रिया ‘लिकबाट तल झरेको’ उदाहरणका रूपमा व्याख्या गरे। “लिकबाट तल झरेको प्रक्रियालाई पुनः लिकमा ल्याउन आवश्यक छ, यो निर्वाचनले त्यस दिशामा सहयोग पुर्याउनेछ,” उनले भने।
देशको हितविपरीत भइरहेका गतिविधिको विरोधमा देशभक्त नागरिकहरूलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।




















