काठमाडौं । नेकपा एमालेले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन कुनै पनि बहानामा सार्न नहुने स्पष्ट पारेको छ। पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्धारित मितिमै निर्वाचन हुनुपर्ने अडान दोहोर्याए।
शाहीले निर्वाचन सर्ने हल्लाले जनतामा अनावश्यक शङ्का पैदा गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने जिम्मेवारी सरकारको भएको बताए। “निर्वाचन तोकिएकै मितिमा हुन्छ, शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन्छ र मतदाताले स्वतन्त्र तथा भयमुक्त वातावरणमा मतदान गर्न पाउँछन् भन्ने विश्वास दिलाउन सरकार अग्रसर हुनुपर्छ,” उनले भने।
उनले अन्त्यमा कुनै पनि बहानामा निर्वाचन सार्न नपाइने र नियोजित रूपमा हल्ला फैलाइएको हुन सक्ने आशङ्का व्यक्त गरे।
उनले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा पुगेको बेला ‘मत सर्वेक्षण’ का नाममा जनमत प्रभावित पार्ने गतिविधि बढेको भन्दै आपत्ति जनाए।
शाहीले भने, “केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी र अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति देखिएको छ। यस्ता प्रायोजित तथ्याङ्कले मतदाताको मनोविज्ञान प्रभावित पार्न सक्छ र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ। यसले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तथा स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको मर्ममाथि प्रश्न उठाएको छ।”
निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा देश अघि बढिरहेका बेला सम्बन्धित निकाय र सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता र उच्च नैतिकता पालना गर्नुपर्ने उनले जोड दिए। सामाजिक सञ्जालको दुरुपयोग र कृत्रिम सामग्री नियमन नहुँदा गम्भीर समस्या सिर्जना हुनेतर्फ पनि उनले ध्यानाकर्षण गराए।
उनले भने, “सूचना, समाचार, शिक्षा, मनोरञ्जन र सम्पर्कका लागि सामाजिक सञ्जाल प्रमुख माध्यम बनेका छन्। यी माध्यमबाट सकारात्मक बहस हुनु सबल पक्ष हो। तर पछिल्लो समय गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामग्रीको प्रसारले सामाजिक सद्भाव बिगार्ने र राजनीतिक ध्रुवीकरण बढाउने खतरा उत्पन्न भएको छ।”




















