काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले वास्तविक सुधार आवश्यक रहेको र त्यसको ग्यारेन्टीसहित आफूहरू अघि बढेको बताएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्षलाई खेर जान नदिने संकल्प र योजनासहित कांग्रेस अघि बढेको बताए।
उनले नागरिक तहमा, विशेषगरी युवापुस्तामा असन्तोष बढ्दै गएको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूका गुनासा जायज रहेको टिप्पणी गरे।
“नेपाललाई अहिले सुधार चाहिएको हो। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ। संकल्प र योजनासहित अबको पाँच वर्ष खेर फाल्न हुँदैन,” उनले भने, “गएका १०–१२ वर्षमा जति विकास हुनुपर्थ्यो, त्यो हुन सकेन। त्यसको जिम्मेवारीको हिस्सा हामी पनि हौँ, तर अबको पाँच वर्ष खेर जान दिँदैनौँ।”
थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने स्पष्ट पारे। उनका अनुसार देश निर्माणका लागि सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य अपरिहार्य छ।
देशमा रहेका सबै दललाई समेटेर अघि बढ्ने समन्वयकारी राजनीति आजको आवश्यकता भएको बताउँदै उनले त्यस भूमिकाको नेतृत्व नेपाली कांग्रेसले गर्ने दाबी गरे।
“देश उत्तेजनाले मात्रै बदलिँदैन, रिस र आवेगले पनि बदलिँदैन,” उनले भने, “हामीबीच मतभेद छन्, हामी फरक–फरक राजनीतिक दल हौँ र प्रतिस्पर्धा पनि गर्छौँ। तर देश बनाउन सबैको भूमिका आवश्यक छ। एमाले, माओवादी, रास्वपा, जसपा सबै चाहिन्छ। सबैलाई मिलाएर अघि बढ्ने राजनीति आजको आवश्यकता हो, र त्यो जिम्मेवारी नेपाली कांग्रेसले वहन गर्छ।”




















