काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत गरी करिब चार करोड मतपत्र छपाइ सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साँझसम्म मतपत्र छपाइको सम्पूर्ण काम पूरा गरेको जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार आजदेखि सबै मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेशहरूमा ढुवानी गरिनेछ।
प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छापिएको छ। ४२ दिनको कार्यतालिकासहित सुरु गरिएको छपाइ कार्य ४० दिनमै सम्पन्न भएको पौडेलले जानकारी दिए। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पठाइसक्ने तयारी गरिएको छ।
केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छापेर निर्वाचन आयोग ले विभिन्न स्थानमा पठाइसकेको छ।
त्यस्तै, समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र यसअघि नै छापिएको छ। ती मतपत्र जिल्लामा पठाउने कामसमेत सुरु भइसकेको केन्द्रले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्याउने गरी काम भइरहेको प्रबन्ध निर्देशक पौडेलले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तय गरिएको छ।




















