काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १५ दिनका लागि निर्वाचन प्रचार–प्रसारको समय तोकेको छ । आयोगले फागुन १८ गतेसम्म निर्वाचन आचारसंहिताको पालना गर्दै दल र उम्मेदवारहरुलाई प्रचार–प्रसारका लागि समय निर्धारण गरेको हो ।
२०८२ फागुन ३ गते राति १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
उनकाअनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीकाअनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउने छन् । त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनै पनि किसिमका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ ।
राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उमेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ । नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको भण्डारीले जानकारी दिएका छन् ।
अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणापत्र वा प्रतिवद्धतापत्र आयोगमा पेश गरिसकेको बताए । आइतबार रातिसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको बताए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको पनि आयोगले जनाएको छ ।




















