काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको आन्दोलनमा देखिएको आगजनी जेनजी युवाले नभई आन्दोलनमा घुसेका अपराधी समूहले गराएको दाबी गरेका छन्।
आज झापाको दमक नगरपालिका–२ मा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, “जेनजी भनेको एउटा उमेर समूह हो। त्यो समूहका युवाको आन्दोलनमा घुसेर अपराधीहरूले मुलुक जलाउने काम गरे। शिक्षक र विद्यार्थीले देश जलाएका होइनन्।”
केही महिनाअघि भएको शिक्षक आन्दोलन र त्यसका मागका विषयमा बोल्दै ओलीले आफू प्रधानमन्त्री हुँदा समस्या समाधानका लागि प्रयास गरेको उल्लेख गरे।
उनका अनुसार शिक्षकहरूको संयुक्त आन्दोलन विभिन्न राजनीतिक आस्था र फरक–फरक दृष्टिकोणबाट उठेका मागका कारण सहज रूपमा अघि बढ्न सकेन।
“शिक्षकहरूको माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई जिम्मा दिइएको थियो,” उनले भने, “तर आन्दोलनमा कांग्रेस र माओवादी विचारधारामा आवद्ध शिक्षकहरूले सरकार र प्रधानमन्त्रीकै निरन्तर विरोध गरेकाले आन्दोलनले सही निकास पाउन सकेन।”
चार दिन काठमाडौं बसेपछि ओली आजै आफ्नो निर्वाचन क्षेत्र झापा फर्किएका हुन्।




















