काठमाडौं । निर्वाचन आयोगले देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार ७५३ वटै पालिकामा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।
आयोगका अनुसार सबै स्थानीय तहका प्रत्येक वडामा एक–एक जना स्वयंसेवक नियुक्त गरिएको छ। ती स्वयंसेवकहरूले मतदातामा मतदान प्रक्रियासम्बन्धी देखिने अन्योल हटाउने र सही तरिकाले मत खसाल्न अभिमुखीकरण गर्नेछन्।
यसका साथै सामाजिक सञ्जालमार्फत पनि मतदाता शिक्षासम्बन्धी सामग्री प्रचार–प्रसार भइरहेको छ। आयोगले यो कार्यक्रममार्फत मतदान प्रतिशत बढाउने र बदर मत घटाउने लक्ष्य लिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यसपटक ठूलो संख्यामा नयाँ मतदाता नामावलीमा समावेश भएको र तीमध्ये धेरैजसो युवा मतदाता रहेको उल्लेख गरे। उनका अनुसार, “युवा मतदाता सचेत भएकाले यसपटक मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने आयोगको पूर्वानुमान छ।”
उनले मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिता अनुगमनसमेत गरिने जानकारी दिए। आयोगले देशभरका नगरपालिका तथा गाउँपालिकाका ६ हजार ७४३ वडामा सोमबारदेखि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो। उनीहरूले फागुन १७ गतेसम्म काम गर्नेछन्।
विगतका तीन निर्वाचनमा भने बदर मतको प्रतिशत क्रमशः बढ्दो क्रममा देखिएको थियो।
२०७० सालको संविधानसभा निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेकोमा ४.९६ प्रतिशत बदर भएको थियो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६८.६७ प्रतिशत मतदान हुँदा ५.१६ प्रतिशत बदर मत देखिएको थियो।
२०७९ सालको निर्वाचनमा मतदान प्रतिशत घटेर ६१.६३ पुगेको थियो भने बदर मत ५.१९ प्रतिशत थियो।
तर यसपटक डिजिटल माध्यमबाट पनि मतदाता शिक्षालाई प्राथमिकता दिइएको र युवा मतदाता सक्रिय रूपमा प्रचार–प्रसारमा खटिएकोले बदर मत घट्ने विश्वास निर्वाचन आयोगले व्यक्त गरेको छ।




















