
काठमाडौं । महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा शनिबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका छन ।
सम्बोधनको क्रममा प्रधान सेनापतिले हाम्रो देश नेपालको गौरवका गाथा, परम्परा र संस्कृतिहरू चिन्न, गौरव गर्न र इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिमहरूमा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिएका छन् । साथै, नेपाली सेनाले विभिन्न क्षेत्रहरूमा निर्वाह गर्दै आई रहेको जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पुरा गर्ने क्रममा आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिएका छन् ।
यस अघि शनिबार नै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धा सुमन अर्पण गरेका थिए ।
त्यसै गरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगतिप्राप्त सैनिकका परिवारजनहरूलाई सम्मान समेत गरेका थिए ।





















