काठमाडौं । देशभरका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनअनुसार काठमाडौं महानगरपालिकाले ४४.९७ अंक मात्र प्राप्त गरेको छ, जुन ६ महानगरमध्ये सबैभन्दा कम हो।
यस वर्ष कार्यसम्पादनमा सबैभन्दा अब्बल मोरङको विराटनगर महानगरपालिका बनेको छ। विराटनगरले ७८.११ अंकसहित पहिलो स्थान हासिल गरेको छ। दोस्रो स्थानमा ललितपुर महानगरपालिका रहेको छ, जसले ७६.३३ अंक पाएको छ। तेस्रो स्थानमा चितवनको भरतपुर महानगरपालिका रहेको छ, जसले ६८.०४ अंक प्राप्त गरेको छ।
चौथो स्थानमा पोखरा महानगरपालिका रहेको छ, जसले ५८.७६ अंक पाएको छ। पाँचौं स्थानमा वीरगञ्ज महानगरपालिका रहेको छ, जसले ५४ अंक प्राप्त गरेको छ। काठमाडौं महानगर छैटौं स्थानमा परेको छ।
कार्यसम्पादन मूल्यांकनअनुसार महानगरहरूको अवस्था :
विराटनगर – ७८.११
ललितपुर – ७६.३३
भरतपुर – ६८.०४
पोखरा – ५८.७६
वीरगञ्ज – ५४
काठमाडौं – ४४.९७
आयोगले स्थानीय तहहरूको मूल्यांकन १७ वटा सूचकका आधारमा गरेको हो। ती सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरे वा नगरेको, असार मसान्तभित्र बजेट पास गरे वा नगरेको, तथा आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत हिस्सा मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे वा नगरेको विषय समावेश छ।
यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाए वा नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे वा नगरेकोलाई पनि मूल्यांकनको आधार बनाइएको छ।
त्यसका अतिरिक्त राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ परीक्षण गराउने महिलाको अनुपात, एसईई परीक्षाको नतिजा तथा खोप लगाइएका बालबालिकाको अनुपातलाई समेत मूल्यांकनका सूचकका रूपमा लिइएको आयोगले जनाएको छ।
देशभरि ८० अंकभन्दा माथि प्राप्त गर्ने स्थानीय तह भने चारवटा मात्र रहेका छन्, जसमा अधिकांश पश्चिम नेपालका स्थानीय तह रहेका छन्।




















