काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षाका क्रममा सहयोग गर्न आदेश कुर्नु नपर्ने बताएका छन्।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अवस्था बुझ्ने क्रममा आईजीपी अर्यालले भूकम्पजस्ता विपद्मा स्वतः परिचालन भएजस्तै निर्वाचनका समयमा पनि आवश्यक परेमा अन्य सुरक्षा निकाय तथा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग गर्न सशस्त्र प्रहरी स्वतः परिचालित हुनुपर्ने निर्देशन दिएका हुन्। परिचालनपछि मुख्यालयलाई जानकारी गराउनुपर्ने उनले स्पष्ट गरे।
‘आदेशको पर्खाइमा नबस्नुहोस्। सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी दिनुहोस्। आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो,’ आईजीपी अर्यालले भने।
उनले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालित हुने निर्वाचन सुरक्षाकर्मीलाई आत्मविश्वासका साथ निर्वाचन सुरक्षामा खटिन निर्देशन दिए।
महानिरीक्षक अर्यालले स्याङ्जा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी युनिटहरूमा पुगेर पनि निर्वाचन सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। निर्वाचन विथोल्न खोज्ने प्रयासलाई असफल बनाउन सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै उनले निष्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिए।
सो अवसरमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले महानिरीक्षक स्वयं जिल्लामा आएर सुरक्षा अवस्थाबारे जानकारी लिँदा सुरक्षा व्यवस्थापनमा थप ऊर्जा मिलेको बताए।
यसैगरी, आईजीपी अर्यालले स्याङ्जाको वालिङस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म र गल्याङस्थित निर्वाचन सुरक्षा बेसको निरीक्षण गरी निर्वाचन तयारीबारे जानकारी लिएका छन्। उनले सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पामा पुगेर पनि तयारी अवस्थाबारे बुझाएका छन्।
यस क्रममा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले जिल्लाको निर्वाचन सुरक्षा अवस्थाबारे जानकारी गराएकी थिइन्। साथै प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग शान्ति सुरक्षा तथा निर्वाचन सुरक्षाबारे छलफल गरिएको थियो।
यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेशअन्तर्गत नं. ७ बाहिनी मातहतका सशस्त्र प्रहरी युनिटहरूको अनुगमन गरी निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिएका छन्।

















