काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्।
प्रधानमन्त्री कार्कीसँगै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान सोलुखुम्बु पुगेको हो।
हेलिकप्टरमार्फत सुरुमा नाम्चे पुगेको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ। उनलाई प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरूले स्वागत गर्दै जिल्लाको समग्र अवस्थाबारे जानकारी गराएका छन्।
प्रेस सल्लाहकार रावलका अनुसार हालको अवस्थालाई हेर्दा फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न समस्या नहुने जानकारी जिल्लाका अधिकारीहरूले गराएका छन्।
‘विगतका वर्षहरूको तथ्यांक हेर्दा फागुन महिनामा हिमपात भएको रेकर्ड छैन। त्यसैले फागुन २१ गते निर्वाचन गराउन समस्या नहुने निष्कर्ष निकालिएको छ,’ रावलले बताए।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेका अनुसार जिल्लामा १२३ मतदान स्थल रहेका छन्। हिमपात भएमा सात वटा मतदान स्थल प्रभावित हुन सक्ने सम्भावना छ, जसमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथिल्लो क्षेत्रमा पर्दछन्। हालसम्म ती मतदान स्थल सामान्य अवस्थामा रहेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था अवलोकन गरेपछि प्रधानमन्त्री पश्चिमी क्षेत्रतर्फ जाने कार्यक्रम रहेको छ।




















