झापा । झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो ।
बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा लक्ष्मी मैनालीले आजदेखि फागुन ४ गतेसम्म हुने सम्मेलनमा एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तरराष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने बताए ।
‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्नाका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
डा प्रेमबहादुर साहीले सम्मेलनबाट हाडजोर्नीका क्षेत्रमा भइरहेका नयाँ प्रयोग र सफलताका विषयमा बृहत्त् जानकारी दिन नयाँ र अनुभवी चिकित्सकहरूले गम्भीर विमर्श गर्ने बताए।
यसले हाडजोर्नीका क्षेत्रमा नेपाली चिकित्सक वैज्ञानिकहरूले नवप्रवर्द्धनका क्षेत्रमा गरेका काम र तीनवटा प्रविधि/उपकरण प्रदर्शनी गरिने उनले जानकारी दिए। पत्रकार सम्मेलनमा डा निराजन पराजुलीले अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सक आउने भएकाले विद्यार्थी र नयाँ चिकित्सकलाई कार्यक्रम उपयोगी हुने बताए ।
उनले सम्मेलनमा ‘साइन्टिफिक कोर्स’ र विभिन्न चिकित्कसहरूका कार्यपत्रमाथि चर्चा हुने जानकारी दिए । नेपालका डाक्टरहरु चिकित्सा क्षेत्रमा नयाँ प्रविधि र नयाँ–नयाँ आविष्कार गर्न सक्षम भइसकेको भन्दै सम्मेलनले तिनको प्रचारप्रसारमा योगदान पुग्ने डा नागमणि सिंहको भनाइ थियो । (रासस)


















