काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६–ख ५२०८ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ। सो पसलमा चिया पिउन लागेका धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पसल नजिकै टिपर रोकेर चिया पिउँदै गरेका तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका–१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवातर्फ जाँदै गरेको बसमा सवार ८ वर्षीया सफलता पुलामी मगर घाइते भएका छन्।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।




















