जनकपुरधाम । रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनामा संलग्न गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ। मृतक अलसा खातुन सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन्। दुर्घटना आफ्नै वडाभित्र भएको स्थानीयले बताएका छन्।
प्रहरी स्रोतका अनुसार बा.१५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




















