जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक कार्यक्रमका लागि मधेश आएका छन्।
बुधबार जनकपुरधाम आइपुगेका घिसिङले बिहीबार बिहान जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन्। त्यसपछि उनले जनकचोकमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका थिए।
उनको सचिवालयका अनुसार घिसिङले मधेशका विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट र आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको छ।
पत्रकारहरूसँगको कुराकानीमा घिसिङले आफू अरू कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन्। उनले भने, ‘देशको नेतृत्व गर्न हामी राजनीतिमा आएका हौं। अरू कसैलाई प्रधानमन्त्री बनाउन होइन। हामी नै यो देशमा परिवर्तन गर्नेछौं।’
घिसिङले धेरै निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टी प्रतिस्पर्धामा रहेको दाबी गरे।
उनले यसअघि व्यक्ति र पार्टीलाई हेरेर मत दिइँदै आएको उल्लेख गर्दै अब देशको समृद्धिका लागि मतदान गर्न आग्रह गरे। जेनजी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टीलाई चिनाउँदै उनले नयाँलाई विश्वास गरेर काम गर्ने अवसर दिन मतदातासमक्ष अपिल गरे।




















