काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतले ढिलाइ नगरी तत्काल फैसला गर्नुपर्ने बताएका छन्।
काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले यस मुद्दाबाट सर्वोच्च अदालत पन्छिन नहुने स्पष्ट पारे। आज पनि पेसी तोकिने आशा गरिएको भए पनि फेरि सरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनले भने, “प्रधानन्यायाधीशलाई नलाग्ने रोग लागेर गायब हुने, फोन अफ गर्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको छ। यसले मुलुक ठूलो वैदेशिक आक्रमणको अवस्थामा पुगेको पुष्टि गर्छ। सर्वोच्च, उच्च र जिल्ला अदालत मात्र होइन, समग्र न्यायिक प्रणाली नै संकटमा परेको अनुभूति भएको छ।”
बस्नेतले संसद् पुनर्स्थापना भए निर्वाचनका नाममा भएका गतिविधि र खर्च व्यर्थ हुने उल्लेख गर्दै यस विषयमा शीघ्र निर्णय आवश्यक रहेको बताए। सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले ढुक्कका साथ चुनावी प्रक्रियामा अघि बढ्न नसकिएको उनको भनाइ छ।




















