काठमाडौं । लगातार उकालो लागेको सुनचाँदीको मूल्यमा आज एकैदिन व्यापक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै आज सुन तोलाको तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि बुधबार सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँ बढेर तीन लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो। गएको एक सातामा सुनको मूल्य तोलामा ५७ हजार ५ सय रुपैयाँले बढेको थियो।
गत मंगलबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेर तीन लाख ९ हजार ३ सय रुपैयाँ पुगेको थियो भने सोमबार तोलामा ५ हजार २ सय, आइतबार २ हजार ४ सय र अघिल्लो शुक्रबार ९ हजार २ सय रुपैयाँ बढेको थियो। अघिल्लो साताको बुधबार एकैदिन १० हजार ४ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने २ हजार ९ सय रुपैयाँ घटेको थियो। त्यसयता निरन्तर बढ्दै आएको मूल्य आज उल्लेख्य रूपमा घटेको हो।
यस्तै, आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। चाँदी प्रतितोला ४ सय ४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्य तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।




















