काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा खोटाङबाट नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले बाँदर आतंक नियन्त्रण गर्नु आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताएका छन्।
शुक्रबार राजधानीमा पत्रकारहरूसँग कुरा गर्दै राईले बाँदरका कारण किसानको जीवन र खेती प्रणाली नै संकटमा परेको बताए।
“मान्छे मरेर बाँदर बचाउन सकिँदैन। मेरो उम्मेदवारी एक अर्थमा बाँदर र मान्छेबीचको लडाइँ हो,” उनले भने।
बाँदर आतंककै कारण किसानहरू खेतीपाती छाडेर पलायन हुन थालेको उल्लेख गर्दै उनले आफ्नै अनुभव पनि सुनाए।
“म आफैं किसान हुँ। मैले लगाएको फलफूल बाँदरले नष्ट गरेर हैरान बनाएको छ,” राईले भने, “कानुनले बाँदर तह लगाउन नदिँदा कि मान्छे भोकै मर्नुपर्ने अवस्था आएको छ, कि गाउँ छोड्नुपर्ने बाध्यता छ।”
उनका अनुसार बाँदर आतंकले पहाडमा बाँझो जमिन बढ्दै गएको छ भने रोजगारीको खोजीमा युवाहरू शहर र विदेशतर्फ जान बाध्य भएका छन्।
“बाँदर नियन्त्रण र मान्छे जोगाउन जंगली जनावरसम्बन्धी कानुन संशोधन गर्नुपर्छ। सांसद बनेर यो विषयमा काम गर्छु,” उनले प्रतिबद्धता जनाए।
खेती प्रणाली सुदृढ भए बसाइँसराइ पनि धेरै हदसम्म रोकिने उल्लेख गर्दै उनले भने, “पहाड रित्तिँदै गएको छ। बसाइँसराइ रोक्नु पनि मेरो अर्को एजेन्डा हो, तर बाँदर आतंक नियन्त्रण नभएसम्म यो सम्भव छैन।”




















