काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी शक्तिको प्रभावमा कठपुतली सरकार निर्माण भएको टिप्पणी गरेका छन्।
प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पोखरेलले चुनावपछि पनि यस्तै प्रवृत्तिको सरकार जन्माउने प्रयास भइरहेको दाबी गरे।
उनले संविधान कमजोर पारिएको, लोकतन्त्र घायल अवस्थामा पुगेको र नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए।
“अहिले विदेशीको कठपुतली सरकार बनेको छ। भविष्यमा पनि त्यसलाई निरन्तरता दिन ‘जेलेन्स्की’ जन्माउने योजनासहित अभियान सुरु गरिएको छ,” उनले भने।
विदेशी शक्तिको षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले चीन र भारतका विरुद्ध शक्ति राष्ट्रहरूले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने बताए।
यसैबीच, महासचिव पोखरेलले निर्वाचन व्यक्तिको अनुमोदनभन्दा पनि राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको आडमा चर्चित बनाइएका व्यक्तिलाई जनताले अनुमोदन गर्नु उपयुक्त नहुने धारणा राखे।
“निर्वाचन भनेको राजनीतिक मुद्दाहरूबीचको प्रतिस्पर्धा हो। कुन दलले कस्ता मुद्दा उठाएका छन् भन्ने आधारमा नयाँ वा पुरानो छुट्यिन्छ,” उनले भने, “सामाजिक सञ्जालबाट सेलिब्रेटी बनाइएकाहरूले जनताको पक्षमा काम गर्न सक्दैनन्।”
उनले राजनीतिक मुद्दाविहीन व्यक्तिहरूलाई चिनेर राजनीतिक एजेन्डाका आधारमा मतदान गर्नुपर्ने आवश्यकता औंल्याए।




















