काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या गरेका छन्। घटना आज बिहान करिब ३ बजे भएको प्रहरीले जनाएको छ।
परवानीपुर गाउँपालिका वडा नं १ निवासी २७ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्री देवीको टाउको काटेर हत्या गरिएको हो। घटनामा उनका बुबा जगरूप महतो मण्डल, २० वर्षीया बहिनी रीना कुमारी र बुहारी मनिता घाइते भएका छन्।
घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी पुगेर खोजी कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको छ। हत्या गर्ने व्यक्तिको पहिचान र पक्राउका लागि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।



















