काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साउदीको रियादमा साधारण श्रमिक (जनरल वर्कर्स) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्नासम्बन्धी श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् ।
एक दशकभन्दा बढी समयको प्रयासपछि साउदीसँग श्रम सम्झौता टुंगोमा पुगेको हो । नेपालले २०७० सालदेखि नै साउदीसँग श्रम सम्झौता गर्ने पहल गर्दै आएको थियो । पटक–पटक सम्झौताको मस्यौदा तयार पारिए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सरकार परिवर्तन भएपछि सम्झौतामा हस्ताक्षर प्रक्रिया ढिलाइ भएको थियो ।
सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रम मन्त्रीबीच द्विपक्षीय भेटवार्ता पनि भएको थियो । सो अवसरमा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदीबीचको श्रम सहकार्यलाई थप संस्थागत र सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले सम्झौतामार्फत नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बन्ने बताए । साथै यसले साउदीमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षण र रोजगारी सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
सम्झौतामा श्रमिकको सेवा सुविधा, काम गर्ने अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणजस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाउने, करारपत्र परिवर्तन गरिने, कम्पनीले स्वदेश फर्किन नदिने तथा उपचारमा लापरवाही हुनेजस्ता समस्याका बारेमा दूतावास र वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले (पुनः श्रम स्वीकृतिसहित) साउदीका लागि श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति लिएर साउदी अरब गएका थिए ।



















