काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा विद्यार्थीलाई नेपालमै अवसरको पहिचान गरी स्वदेशमै बसेर देश निर्माणमा योगदान गर्न आग्रह गरेकी छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा देखिने समस्या र व्यथितिबाट भाग्ने होइन, डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। उनले अवसर नभएका ठाउँमा पनि नयाँ अवसर सिर्जना गर्न सकिने भन्दै जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक बन्न विद्यार्थीलाई प्रेरित गरिन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति कार्कीले विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय, र व्यवस्थापन तथा कानुन सङ्कायअन्तर्गतका गरी ५४५ जना उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिन्। तीमध्ये १९१ जना विद्यार्थी समारोहमा उपस्थित थिए।
दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्री कार्कीले स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरेकी हुन्।




















