काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय अब अस्पतालतिर पनि सरेको छ । अब अस्पतालले समेत दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) प्रशासनले बुधबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालमा कार्यालय समय ९ देखि ५ बजेसम्म र शनिबार र आइतबार बिदा गर्ने निर्णय भएको जानकारी गराएको छ ।
त्रिवि शिक्षण अस्पतालले विज्ञप्तीमा भनेको छ, ‘हालै नेपाल सरकारबाट प्रकाशित सूचना तथा त्रिवि कार्यकारी परिषदको चैत २३ गतेको निर्णय अनुसार यस अस्पतालमा हाललाई कार्यालय समय ९ देखि ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने निर्णय गरिएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यसबाट अस्पतालमा उपचार गराउन आउनु हुने बिरामीहरूमा पर्न जाने असुविधाहरूलाई मध्यनजर गर्दै ओपीडी र शल्यक्रियाहरू शुक्रबार पूरा दिन र अन्य दिनमा व्यवस्थापन गरिने छ ।’





















