भक्तपुर । सानोथिमिस्थित बाल सुधारगृहको अवस्था हाल सामान्य बन्दै गएको छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि प्रहरीको बाक्लो तैनाथी गरिएको छ।
बिहीबार राति सुधारगृहभित्र रहेका दुई समूहबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको थियो। झडप नियन्त्रणमा लिन थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको भए पनि प्रहरीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।
दुई समूहबीचको झडप आगजनी र तोडफोडमा परिणत भएपछि आगो नियन्त्रणका लागि मध्यरातमा भक्तपुर र काठमाडौँबाट वारुणयन्त्र परिचालन गरिएको थियो।
हाल सो बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी कुल १६९ जना रहेका छन्।




















