काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गते र पढाइ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले बिहीबार एक पत्र जारी गर्दै उक्त निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र परिवर्तनसँगै शैक्षिक कार्यक्रमहरू पनि पुनःसंरचना गर्नुपर्ने भएको छ । साथै अबदेखि सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने व्यवस्था लागू गरिएको छ ।
केन्द्रले वैशाख २ गतेदेखि विद्यालयहरूलाई विभिन्न तयारीका काम अघि बढाउन आग्रह गरेको छ । जसअनुसार विद्यालयहरूले नयाँ शैक्षिक सत्रको कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार पार्ने, विद्यालय सुधार योजना अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका योजना बनाउने कार्य गर्नुपर्नेछ ।
त्यसैगरी, नयाँ शैक्षिक सत्रको भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने केन्द्रले जनाएको छ । केन्द्रले सबै सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्दै निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ ।




















