काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।
कांग्रेसले कैलाली–४ बाट टिकट दिए पनि बलायरले उम्मेदवारी नदिने निर्णय गरेका हुन्। उनले शेरबहादुर देउवालगायतका नेताहरूलाई लक्षित गरी वञ्चित गराउने ढंगले निर्वाचन अघि बढाइएको भन्दै यस्तो चुनावको कुनै औचित्य नरहेको बताए।
देउवानिकट मानिने बलायर २०७९ को निर्वाचनमा डोटीबाट कैलाली–४ झरेर एमालेका लेखराज भट्टलाई पराजित गरेका थिए। पार्टीले देउवा र रमेश लेखकलाई टिकट नदिएपछि बलायरले टिकट फिर्ता गरेको बुझिएको छ।
यसअघि कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्।
कांग्रेसले देउवाको परम्परागत निर्वाचन क्षेत्र डडेलधुरामा सभापति गगन थपाले युवा नेता नैनसिंह महरलाई टिकट दिएका छन् भने रमेश लेखकको कञ्चनपुर–३ मा पूर्व जिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ।




















