काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । झापा-५ बाट बालेन विजयी भएपछि ओलीले बधाई दिएका हुन् । उनले ५ वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन् ।
मेयरमा निर्वाचित भएपछि बधाई दिनेक्रममा दिएको तबलाको तस्बिर राख्दै उनले भनेका छन् ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !’
बालेनले शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् । बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३ मत ल्याएका छन्। नेपाली काँग्रेसका मन्धरा चिमरियाले एक हजार ८२१, नेकपाका रञ्जित तामाङले एक हजार ४६१ र राप्रपाका लक्ष्मी सङ्ग्रौलाले एक हजार ५३६ मत ल्याएका छन् ।




















