झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुने विषयमा आशंका व्यक्त गरेका छन्।
सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताए। समाजमा विभिन्न प्रकारका आपराधिक घटना भइरहेकाले सुरक्षा व्यवस्था कमजोर देखिएको उनको भनाइ छ।
अध्यक्ष ओलीका अनुसार निर्वाचन आयोगमाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएकाले निर्वाचन निष्पक्ष र भयरहित हुनेमा शंका उत्पन्न भएको छ। यद्यपि, जस्तोसुकै परिस्थितिमा पनि नेकपा एमाले निर्वाचनमा सहभागी हुने उनले स्पष्ट पारे।
“सुरक्षा प्रबन्ध अझै राम्रो हुन सकेको छैन, अपराधका घटना भइरहेका छन्। निर्वाचन आयोगमाथि पनि प्रश्न उठ्ने अवस्था छ,” ओलीले भने, “तर जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ।”
यसैबीच, झापा निर्वाचन क्षेत्र नम्बर ५ लाई निर्वाचनको ‘इपिसेन्टर’ भनिएको विषयमा प्रतिक्रिया दिँदै ओलीले त्यसलाई अस्वीकार गरे। “के को इपिसेन्टर हुन्छ ? वाइयात कुरा हो,” उनले भने।




















