काठमाडौँ । निर्वाचन आयोगको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय खारेजको माग गर्दै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि माघ ६ गते पेशी तोकिएको छ।
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले आइतबार बिहान सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो। रिट दर्ता भएको पुष्टि गर्दै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने, “रिट दर्ता भएको छ। माघ ६ गतेका लागि पेशी तोकिएको छ।”
आज रिट दर्ता भए पनि भोलि ल्होसारको सार्वजनिक बिदा परेकाले माघ ५ गते सर्वोच्च अदालत बन्द रहनेछ। सोही कारण माघ ६ गते रिटको सुनुवाइका लागि पेशी तोकिएको हो।
उता, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पनि माघ ६ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ। यससँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उम्मेदवारी दर्ता अघि नै टुंगिने सम्भावना न्यून देखिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलले उम्मेदवार टुंगो लगाइसकेका छन्। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रायः सबै उम्मेदवार तय गरिसकेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय समिति बैठक बोलाएको छ भने अन्य दलहरूले पनि उम्मेदवार छनोट अन्तिम चरणमा पुर्याइसकेका छन्।
नेपाली कांग्रेसमा भने सभापति गगन थापाले पुरानै सिफारिसका आधारमा उम्मेदवार टुंगो लगाउने तयारी गरिरहेका छन्। तर देउवा पक्ष सर्वोच्च अदालत पुगेकाले उम्मेदवारी दिने–नदिने विषयमा अझै निश्चित निर्णयमा नपुगेको बताइएको छ।
रिट दायर गर्न पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सञ्चारकर्मीहरुसँग बोल्दै भने ‘२ गते निर्वाचन आयोगले कांग्रेसको विषयमा संविधान विपरीत, दल ऐन र विधान विपरीत निर्णय गरेको छ । दलसम्बन्धी ऐन, विधान प्रतिकूल हुने गरी भएको निर्णय आयो त्यसविरुद्ध रिट दर्ता गर्यौँ । त्यसलाई उल्ट्याएर विधानको रक्षा गरोस्, मुलुकको रक्षा गर्न पनि यो महत्वपूर्ण छ भनेर दायर गरेका छौँ ।’
उनले सर्वोच्च अदालतले यसलाई अग्राधिकारमा राखेर छिटै न्यायनिरुपण गर्ने विश्वास व्यक्त गरेका छन् ।




















