काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोग पत्र सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध बिहीबार प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलमा सहकारी पीडितहरूले खबरदारी जुलुससहित प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरूले ठगी प्रकरणका अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ को संज्ञा दिएका छन् ।
सहकारी पीडितलाई न्याय दिन माग गर्दै उनीहरूले महान्यायाधिवक्तको निर्णयविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले मंगलवार विभिन्न जिल्ला अदालत (कास्की, रुपन्देही, काठमाडौं र पर्सा) मा दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
यस निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्रै कायम रहने छ । प्रदर्शनका सहभागीले सहकारी ठगीका पीडित बचतकर्ताको हकहितलाई प्राथमिकतामा नराखेको बताएका छन् ।
राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको पनि उनीहरूले गुनासो गरेका छन् । लामिछानेले राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।




















