काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। यसबारे निर्वाचन आयोग जानकार रहेको उनले बताएका छन्।
सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले जसरी महाधिवेशन प्रतिनिधिहरूले शेरबहादुर देउवालाई सभापति चुनेका थिए, त्यही प्रतिनिधिहरूले आफूलाई पनि सभापति निर्वाचित गरेको स्पष्ट पारे।
कांग्रेस विभाजित नभएको उल्लेख गर्दै थापाले विशेष महाधिवेशन भइरहेको र केही दिनमै नयाँ कार्यसमिति गठन हुने विषयमा निर्वाचन आयोगलाई यसअघि नै लिखित जानकारी गराइसकिएको जानकारी दिए।
निर्वाचन आयोग कुनै पनि दबाब वा प्रभावमा नपरी विधि र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गर्दै थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी कुनै विवाद नहुने दाबी गरे।




















