काठमाडौं । गायिका ज्योति मगरले चन्द्रौटामा आफू लखेटिएको भन्ने समाचारलाई भ्रामक भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले त्यस्तो कुनै घटना आफूलाई नभएको स्पष्ट पारेकी छन्।
फेसबुक स्टाटसमा मगरले चन्द्रौटामा भएको भनिएको कार्यक्रम वास्तवमा अर्कै कलाकारको रहेको उल्लेख गरेकी छन्। उनले भ्रामक समाचार फैलाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै त्यस्तो समाचार सुनेर खुसी हुने आफ्ना ‘दुश्मनहरू’लाई व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेकी छन्।
मगरले आफ्नो कार्यक्रम भने दाङको घोराहीमा सभ्य र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन्। साथै, उनले अब केही समयमै सल्यानतर्फ कार्यक्रमका लागि प्रस्थान गर्ने उल्लेख पनि गरेकी छन्।
उनले फेसवुकमा लेखेकी छिन् “मेरा प्यारा दुश्मन हरु शुभ प्रभात… चन्द्रौटा मा ज्योति मगर लखेटिइन भन्ने भ्रामक समाचार ले तपाईं को हड्डी हासीरहेको बेला त्यो कार्यक्रम जिबब भन्ने र्यापार भाइ को रहेछ भन्ने थाहा पाउँदा तपाईं को मन मा कति चोट पर्यो होला त्यो म बुज्न सक्छु.. भ्रामक समाचार फैलाउने र सोही समाचार सुनेर आत्मरति मा तिमा रमाउने सम्पुर्ण दुश्मन हरु को यो दु:खद घडी मा हार्दिक श्रेदानजलि व्यक्त गर्न चाहन्छु र त्यो दिन मेरो कार्यक्रम सभ्य र भब्य रुप मा दाङ को घोराही मा सम्पन्न भयको जानकारी गराउन चाहन्छु…
अब को केही छिन मा सल्यान …”




















