काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्। उनले बुधबार बिहान काठमाडौँको भृकुटीमण्डपमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा करिब एक घण्टा छलफल गरेर फर्किएलगत्तै थापाले उम्मेदवारी दर्ता गराएका थिए। विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको चरणमा प्रवेश गर्नै लाग्दा देउवाले सहमतिका प्रयासस्वरूप आज बिहान दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई निवासमा बोलाएका थिए।
तर महामन्त्रीद्वयको मागअनुसार देउवा तत्काल सभापति पद छाड्न तयार नभएपछि वार्ता बिनासहमति टुंगिएको हो।
यसैबीच, सभापति देउवाले वार्ताका क्रममा महामन्त्रीद्वयलाई पार्टी नफुटाउन भावुक अपिल गरेका छन्। वार्तामा सहभागी कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार देउवाले अत्यन्त भावुक हुँदै पार्टीको एकता जोगाउन आग्रह गरेका थिए।
देउवाको भनाइ उद्धृत गर्दै महतले भने, “पार्टी फुट्नु हुँदैन। म उदार हुन तयार छु। हस्ताक्षरको विषय समस्या हो भने त्यसलाई समस्या नमानौँ। केन्द्रीय समितिको निर्णयअनुसार अहिलेसम्म मेरै हस्ताक्षरमा प्रक्रिया अघि बढेको छ। समानुपातिक सूची पनि गइसकेको छ। अब प्रत्यक्ष निर्वाचन बाँकी छ। निर्वाचन आयोगलाई समस्या नहुने अवस्थामा म पार्टीका जुनसुकै नेतालाई पनि हस्ताक्षरको अधिकार दिन तयार छु। पार्टी नफुटाऊ। म अब सभापति हुने पनि होइन। वैशाखमा तपाईं जो कोही पनि हुन सक्नुहुन्छ।”
तर महामन्त्रीद्वयले तत्काल नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान कायम राखेपछि वार्ता निष्कर्षविहीन बनेको प्रवक्ता महतले जानकारी दिए।
देउवा निवासमा बुधबार बिहान करिब एक घण्टा चलेको वार्तापछि विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ।
केन्द्रीय कार्यसमितिको बहुमतले १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरे पनि त्यसलाई नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसभित्र विवाद चर्किएको हो।
पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ।



















