काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज बिहान भेटवार्ता भइरहेको छ।
संस्थापन र विशेष महाधिवेशन पक्षधर वार्ता टोलीबीच सहमति हुन नसकेपछि सभापति देउवाले दुई महामन्त्रीलाई छलफलका लागि बोलाएका हुन्। यसअघि दुवै पक्षबीच भएका वार्ता निष्कर्षविहीन रूपमा टुंगिएका थिए।
देउवानिकट एक नेताका अनुसार पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भीर छलफलका लागि सभापतिले महामन्त्रीद्वयलाई बोलाएका हुन्।
यता, विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। संस्थापन र विशेष महाधिवेशन पक्षबीच रातभर चलेका विभिन्न चरणका वार्ता असफल भएपछि निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सभापति देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचन नै एकमात्र विकल्प बनेको हो।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षले अन्तिम समयसम्म वार्ताको प्रयास गरिरहे पनि निर्वाचन कार्यक्रम यथावत् रूपमा अघि बढाइएको बताए।
यसअघि मंगलबार बेलुकी विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि विशेष महाधिवेशन पक्षधरले रातिसम्म सहमति नजुटे निर्वाचनमार्फत नै नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए।




















