सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट गरेका हुन् ।
सिन्धुली प्रहरीका अनुसार कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको थिए । मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट भएको हो। लुटेराले बैंकभित्रको नगद भरेका बोरा–बोरासहित जंगलतर्फ फरार भएका छन् ।
लुटपाटपछि राति स्थानीयले बोरा पैसा फेला पारेका छन्। लुटपाट लागत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन गर्दै खोजी अभियान तीव्र पारिएको छ। प्रहरीका अनुसार स्थानीय बासिन्दाको सहयोगमा जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी भइरहेको छ।
कति रकम लुटिएको हो भन्ने विषयमा भने बैंक र प्रहरीले अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।



















