काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमका बीच कांग्रेस विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति तथा वरिष्ठ कानुन व्यवसायीहरूसँगको छलफलमा पार्टी एकता कायम गर्न अन्तिम प्रयासमा रहेको बताएका हुन् ।
छलफलमा कोइरालाले पार्टीलाई फुटबाट जोगाउन सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी गराउँदै पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरे। “म पार्टीका शीर्ष नेताहरूसँग पार्टी फुट्न नदिने विषयमा निरन्तर कुरा गरिरहेको छु। तपाईंहरू ढुक्क हुनुहोस्, पार्टी फुट्दैन,” उनले भने, “सबै जना एकताका लागि लाग्नुस्, निराश हुने अवस्था छैन।”
कोइरालाले पार्टीभित्रको एकता कायम गर्न आफू विष पिएरै भए पनि तयार रहेको भन्दै अन्तिम प्रयासमा जुटिरहेको दाबी गरे।
छलफलका क्रममा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र हुने कानुनी व्याख्या प्रस्तुत गरेको कोइरालाको सचिवालयले जनाएको छ।
उक्त छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टी विभाजन रोक्न दुवै पक्षबीच सहजीकरण गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने भूमिकामा सक्रिय हुन कोइरालालाई आग्रह गरेका थिए।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी र मिनेन्द्र रिजाल तथा वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायत सहभागी थिए।




















