काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहँदा सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकता जोगाउन पहल गर्ने निर्णय गरेको छ । देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षलाई लक्षित गरी एकताका लागि आह्वान गर्न निर्देशन दिएका हुन् ।
देउवा निवासमा कार्यवाहक सभापति खड्कासहित देउवा पक्षका नेताहरूबीच भएको छलफलमा तत्काल एकताका लागि आह्वान गर्ने निष्कर्ष निकालिएको एक नेताले बताएका छन् । विशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम देखिएपछि सभापति देउवाले हस्तक्षेप गरेका हुन् ।
“विशेष महाधिवेशनले पार्टी फुट्ने अवस्था सिर्जना गरेको छ। सभापतिज्यूले हामीलाई बोलाएर छलफल गर्नुभयो र तत्काल एकताका लागि आह्वान गर्न निर्देशन दिनुभयो,” एक नेताले भने, “कार्यवाहक सभापतिले छिट्टै एकताको आह्वान गर्नुहुनेछ ।”
स्रोतका अनुसार देउवा पक्षको छलफलमा केही नेताहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गर्नुपर्ने माग उठाए पनि देउवाले अहिले त्यस्तो निर्णय गर्दा अवस्था थप जटिल हुने भन्दै एकतामा जोड दिएका थिए ।
सभापति देउवाले कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई विशेष महाधिवेशन पक्षसँग संवाद गर्न समेत जिम्मेवारी दिएका छन् ।
यता थापा र शर्माको पहलमा आह्वान गरिएको विशेष महाधिवेशनमा देउवा नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव अघि सारिएको छ ।
भृकुटीमण्डपमा बहुमत प्रतिनिधिको सहभागितासँगै गगन–विश्व समूहले नयाँ नेतृत्व चयन गर्ने प्रक्रियासमेत अघि बढाइसकेको बताइएको छ।
यसैबीच कांग्रेसका अर्का नेता शेखर कोइरालाले पनि आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका छन्। छलफलमा सहभागी नेताहरूले पार्टी विभाजन रोक्न आग्रह गरेपछि कोइरालाले संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उता विशेष महाधिवेशनको बन्दसत्रमा साङ्गठनिक प्रस्ताव पेश भइसकेको छ र त्यसमा छलफल अगाडि बढिरहेको छ।




















