काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ। जारी बन्दसत्रले उक्त कार्यविधि सर्वसम्मत रूपमा अनुमोदन गरेसँगै पार्टीमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्ने भएको छ ।
कार्यविधि अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको हालको केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले सो समितिलाई विघटन गरी १५ औँ महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरिने व्यवस्था गरिएको छ।
कार्यविधिमा उल्लेख गरिएको छ, “नेपाली कांग्रेसको चौधौँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भई निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने।”
यससँगै चौधौँ महाधिवेशनपछि विधान २०१७ (संशोधनसहित) बमोजिम गठन गरिएका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति तथा केन्द्रीय लेखा समिति समेत विघटन गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।
विशेष केन्द्रीय महाधिवेशनमार्फत केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने उल्लेख छ। साथै, विशेष महाधिवेशनबाट भएका निर्णयहरू प्रमाणित गर्न संयोजकसहित पाँच सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन गरिने व्यवस्था पनि गरिएको छ।
कार्यविधिले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्य सम्पादन समितिले यसअघि गरेका निर्णयहरूको पुनरावलोकन, आवश्यक परे सुधार वा निष्क्रिय तथा खारेज गर्न सकिने प्रावधान समेत समेटेको छ। साथै, पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाधिवेशन वैधानिक रहेको भनी अनुमोदन गरिएको छ।





















