काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भएको छ। भृकुटीमण्डपमा उद्घाटन हुने विशेष महाधिवेशनका लागि सोमबार बिहान नाम दर्ता सुरु गरिएको हो ।
बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी भए पनि केही ढिलाइपछि प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ। नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरू नाम दर्ता गरी परिचयपत्र लिने क्रममा रहेका छन्।
महाधिवेशनको उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तयारी छ। यसअघि काठमाडौं उपत्यकाका विभिन्न छ स्थानबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ। विशेष महाधिवेशनको उद्घाटन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुनेछ। उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने र बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले गर्ने तय गरिएको छ।
पार्टी विधानको धारा १७(२) बमोजिम पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएपछि महाधिवेशन बोलाइएको हो। सोही अनुसार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्। यद्यपि पार्टीको संस्थापन पक्षले भने विशेष महाधिवेशनप्रति असहमति जनाएको छ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनले पार्टी संगठनलाई थप मजबुत बनाउने बताएका छन्। उनीहरूले संयुक्त अपिल जारी गर्दै कांग्रेस विधानअनुसार विशेष महाधिवेशनको माग परेको तीन महिनाभित्र महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको दोहो¥याएका छन्।
संयुक्त विज्ञप्तिमार्फत उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष महाधिवेशनमा सहभागी हुन सम्पूर्ण प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। प्रतिनिधिहरूले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूप नीति निर्माण गर्न तथा नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय आवश्यक रहेको उल्लेख गर्दै निवेदन दर्ता गराएको महामन्त्रीद्वयको भनाइ छ।
महामन्त्रीद्वयले जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एकताबद्ध राख्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो।
विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यक्रम छ।




















