काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौंं आइसकेका छन् ।
विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता आज (आइतबार) बिहान ८ बजेदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए उनका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।
आचार्यले जारी गरेको सूचनामा नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै पनि कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउन भनिएको छ ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए ।
कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।




















