काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले विशेष महाधिवेशन आयोजना गर्दा पार्टी विभाजनको जोखिम बढ्ने निष्कर्ष निकाल्दै त्यसलाई रोक्नुपर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौँको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा सम्पन्न भेलामा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो। भेलामा नेता कृष्ण सिटौला लगायतका नेताहरू उपस्थित थिए भने सिटौलाले भेलालाई सम्बोधनसमेत गरेका थिए।
भेलामा केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, एनपी साउँद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, लक्ष्मी खतिवडा, किरण पौडेल, उर्मिला थपलिया, मदनकृष्ण श्रेष्ठ, गंगा अवाल र गणेश लामा सहभागी थिए।
भेलामा विशेष महाधिवेशन आयोजना गरिए कांग्रेस विभाजन हुन सक्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए। भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई कमजोर बनाउने गतिविधि भइरहेको आरोप लगाए। “भूराजनीति र राष्ट्रिय राजनीतिक परिस्थितिका कारण कांग्रेस विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भएको छ,” बरालले भने।
त्यसैगरी, भेलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई पनि महाधिवेशन रोक्न आग्रह गर्ने निर्णय गरेको छ। उल्लेखनीय रूपमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन्।




















