काठमाडौं । नेकपा एमालेले पुस २६ र २७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकताको प्रतिलिपिसहित उपस्थित हुन निर्देशन दिएको छ। एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक शनिबारदेखि सुरु हुँदैछ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पुस २६ गते बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने गरी केन्द्रीय कमिटी आह्वान गरिएको हो।
बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपी अनिवार्य रूपमा साथमा ल्याउन भनिएको छ। एघारौँ महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो बैठक हो। यसअघि पहिलो बैठक पुस ४ गते बसेको थियो।
बैठकलाई कार्यमूलक बैठकका रूपमा लिइएको छ। प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै बैठकले महत्वपूर्ण नीतिगत निर्णय गर्ने पार्टीले जनाएको छ।
केन्द्रीय सदस्यहरूको उमेर समूह र परिचयसहितको विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्ने भएकाले नागरिकताको प्रतिलिपि लिएर उपस्थित हुन निर्देशन दिइएको हो।




















