काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको विवाद अन्त्य गर्न पहल गर्न आग्रह गरेका छन्।
आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टीभित्र विभाजनको जोखिम बढ्दै गएको भन्दै त्यसको निकास खोज्न सभापतिले अग्रसरता देखाउनुपर्ने धारणा राखेका हुन्।
भेटबारे जानकार पार्टी स्रोतका अनुसार कोइरालाले पार्टी एकता जोगाउन देउवाले लचकता अपनाउनुपर्नेमा जोड दिएका थिए। पार्टीमा को नेता बन्ने भन्नेभन्दा पनि संगठनको एकता अहिलेको मुख्य आवश्यकता भएको कुरा उनले सभापतिसँग स्पष्ट रूपमा राखेका थिए।
यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिरहेका छन्। अर्कोतर्फ, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानअनुसार विशेष महाधिवेशन आह्वान नभएकाले त्यसमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।




















