काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने घोषणा गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। साम्पाङले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु । जय माटो ! जय देश !’
धरानको मेयर निर्वाचित भएपछि चर्चामा आएका साम्पाङ हाल ‘श्रम संस्कृति पार्टी’ गठन गरी राष्ट्रिय राजनीतिक गतिविधिमा सक्रिय छन् । उनी देशका विभिन्न जिल्लामा पुगेर संगठन विस्तारमा जुटिरहेका छन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राई निर्वाचित भएका थिए। पछि राईले जसपा नेपाल विभाजन गरी नयाँ दल ‘जसपा’ गठन गरेका छन् ।
उक्त निर्वाचनमा अशोक राईले १७ हजार ५९ मत प्राप्त गरेका थिए। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ रहेकी थिइन्, जसले १६ हजार ६०६ मत पाएकी थिइन्।
नेकपा (माओवादी केन्द्र) का मुक्सामहाङ सुब्बा तेस्रो स्थानमा रहँदै १३ हजार ८७ मत प्राप्त गरेका थिए।



















