काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका चार जना नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शुक्रबारै मन्त्रिपदमा नियुक्त गरेका थिए। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी यस प्रकार तोकिएको छः
श्रद्धा श्रेष्ठ — महिला तथा बालबालिका मन्त्रालय
माधव चौलागाईं — वन मन्त्रालय
राजेन्द्रसिंह भण्डारी — श्रम मन्त्रालय
कुमार इङ्नाम — भूमि मन्त्रालय
श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन्। उनी सस्टेनेबल टुरिजम परियोजनाको प्रमुखका रूपमा बोर्डमा कार्यरत रहेकी थिइन्।
माधव चौलागाईं जनस्वास्थ्य विशेषज्ञ हुन्। उनले कर्णाली क्षेत्र सम्बन्धी गहन अध्ययन तथा अनुसन्धान गरेका छन्। ‘सपादलक्ष कर्णाली’ पुस्तकका लेखक साथै ‘मान्ठ हुँ म मान्ठ’ गीतका रचनाकार पनि उनी नै हुन्।
राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का संस्थापक प्रमुखका रूपमा पनि परिचित छन्।
कुमार इङ्नाम अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता तथा वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ हुन्। हाल उनी ‘काठमाडौं स्कुल अफ ल’मा प्राध्यापकका रूपमा कार्यरत छन्। यसअघि उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा समेत पढाइसकेका छन् र उनले कानुनसम्बन्धी धेरै पुस्तकहरू लेखेका छन्।




















