काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरूले हासिल गरेका उपलब्धिहरूमाथि प्रहार भइरहेको बताएका छन् ।
गणेशमान सिंहको २८औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा बोल्दै उनले वर्तमान आन्दोलनको आवरणमा राजनीतिक परिवर्तन र लोकतान्त्रिक उपलब्धिलाई मेट्न खोजिएको आरोप लगाएका हुन ।
राजनीतिक दलहरूले लोकतन्त्र स्थापनाका लागि पुर्याएको योगदानलाई बेवास्ता गर्ने प्रयास भइरहेको वताउँदै नेता सिंहले भने “जेनजी आन्दोलनको कभरमा दलहरूको योगदान शून्य थियो भन्ने सन्देश दिन खोजिँदैछ । यो गलत हो र यस्तो प्रवृत्तिको निष्पक्ष छानबिन हुनुपर्छ ।”
सिंहले आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विराटनगरको कोइराला निवास, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निवासलगायतका स्थानमा तोडफोड र आगजनी भएको घटनालाई गम्भीर रूपमा लिँदै, यसको छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले लोकतान्त्रिक प्रणालीमाथि खेलबाड नगर्न चेतावनी दिँदै वर्तमान सरकारलाई सतर्क रहन आग्रह गरे। उनका अनुसार, प्राप्त अधिकारलाई संस्थागत गर्दै जनताको चाहना अनुसार कार्य गर्नु राजनीतिक दलहरूको जिम्मेवारी हो ।
नेता सिंहले राजनीतिक दलहरूले जनताको असन्तुष्टि अनुसार आफूलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउँदै जनतालाई केन्द्रमा राखेर काम गर्ने बाटो नै लोकतन्त्रको सार भनेका छन् ।



















