काठमाडौँ । भदौ २३ गते भएको जेनजी पुस्ता आन्दोलनमा अग्रपंक्तिमा रहेका मनिष खनाल फागुन २१ को चुनावबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनी जेनजी आन्दोलनपछि पनि सक्रिय रहे।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग विभिन्न चरणमा भएका संवादमा उनी सहभागी थिए। मंसिर २४ गते सरकार र जेनजीबीच १० बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता तयार पार्न पनि उनले भूमिका खेलेका थिए । यति मात्र होइन, उनले लामो समय सडकबाट सरकारलाई खबरदारी गर्दै आएका छन्।
अब २६ वर्षीय मनिषले संसदमा जनताको आवाज उठाउने छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका हुन्।
निर्वाचन परिणाम अनुसार मनिषले नेकपा एमालेका उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गरे । नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा उनलाई हेरिएको छ। जेनजी आन्दोलनकै बलमा आफू संसद आउन पाएको उनको भनाइ छ। ‘म संसदमा जेनजी जनआन्दोलनको आवाज उठाउन आएको हुँ। सहिद र घाइतेका माग स्थापित गर्न पूर्ण रूपमा प्रतिबद्ध भएर काम गर्नेछु। म जेनजी विद्रोहको बलमा यहाँसम्म आइपुगेकोले निरन्तर यसका लागि आवाज उठाउने छु,’ उनले सेतोपाटीसँग भने।
साथै उनले भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाउने बताएका छन्। ‘यससँगै सँगसँगै आफ्नो क्षेत्रका लागि अर्थपूर्ण योगदान गर्छु,’ उनले भने, ‘कानुन नजान्नेहरू कानुन बनाउने ठाउँमा पुग्दा देशले दुःख पायो। अबको राजनीति कानुन बुझेका, समाज बुझेका र जोस भएका युवाहरूले हाँक्नुपर्छ।’
मनिष आफै कानुनका विद्यार्थी हुन्। उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन्। कानुन पढाइकै क्रममा उनले देशको राजनीतिक अवस्थाबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए। नेपाल बार काउन्सिलबाट लाइसेन्स प्राप्त गरेपछि विगत दुई वर्षदेखि उनी अधिवक्ताका रूपमा वकालत पेसामा सक्रिय छन्। उनी सामाजिक मुद्दामा सडकमा उत्रिने अभियानी पनि हुन्।
उनी केही वर्ष अघिदेखि नै राजनीतिमा सक्रिय थिए। राजनीतिक पृष्ठभूमिबारे कुरा गर्दा उनले वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेकाले आफू तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध भएको बताए।
मनिष २०७६ सालमा धनुषाको जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसबीच उनी माइतीघर मण्डल केन्द्रित विभिन्न आन्दोलन, नागरिक अभियान तथा सरकारको खबरदारी कार्यक्रममा सक्रिय थिए।
पछिल्लो समय जेनजी आन्दोलन र युवा केन्द्रित नागरिक अभियानीका रूपमा पनि उनको संलग्नता देखिएको थियो।
राजनीतिक सक्रियताका साथै मनिषले संसदीय अभ्यासको अनुभव पनि बटुलेको देखिन्छ। उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद नीति निर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका थिए।
मनिषले युवा पुस्ताको आवाज, पारदर्शिता, जबाफदेहिता र सुशासन प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयमा अध्ययन तथा अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उउनले बताए। मनिषलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व)–२ का मतदाताले युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित संघीय संसदमा पठाएका छन्। (रासस)




















