काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान चुनौतीपूर्ण परिस्थितिमा संविधान र विधिको शासनमार्फत नै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार संयुक्त रूपमा जारी विज्ञप्तिमा सभामुख घिमिरे र अध्यक्ष दाहालले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई उच्च सम्मान गर्दै विद्यमान समस्याको समाधान संविधानबमोजिमका प्रक्रियाबाट गर्न राष्ट्रपतिको पहल सराहनीय रहेको उल्लेख गरेका छन् ।
त्यसैगरी, २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसद्ले गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तिमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।




















