नवलपुर । गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै ‘दोस्रो जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’ को उपाधि आफ्नो पोल्टामा पारेको छ । मंगलबार नवलपुरमा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा गण्डकीले उपाधि दाबेदार मानिएको आर्मीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
निक्कै आक्रामक देखिएको गण्डकीले खेलको सुरुदेखि नै आर्मीमाथि दबाब कायम राखेको थियो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेटमा झनै लय समात्दै २५ः१३ को फराकिलो अन्तरले जितेको थियो । प्रतिष्पर्धात्मक बनेको तेस्रो सेटमा पनि संयमित प्रदर्शन गर्दै गण्डकीले २५ः२३ को जित दर्ता गर्दै उपाधि सुनिश्चित गर्यो ।
उपाधि विजेता गण्डकी प्रदेशले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित बनेको त्रिभुवन आर्मी क्लबले २ लाख रुपैयाँमा चित्त बुझायो । त्यस्तै, तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले १ लाख र सान्त्वना स्थान प्राप्त गरेको एपीएफ क्लबले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) गण्डकी प्रदेशका कप्तान सन्जुविक्रम शाह घोषित भए । फाइनल खेलको ‘म्यान अफ द म्याच’ को उपाधि गण्डकीकै सन्तोष बिकले हात पारे । अन्य विधागत उत्कृष्टतर्फ गण्डकीकै राजन दर्लामी उत्कृष्ट डिफेन्डर, बिबस राना उत्कृष्ट सेटर र किरण गुरौ उत्कृष्ट प्रशिक्षक चुनिए । यस्तै, नेपाल पुलिस क्लबका पहल गहतराज उत्कृष्ट स्पाइकर, आर्मीका शरण सामरी क्षेत्री उत्कृष्ट सर्भर र सनोज चौधरी उत्कृष्ट ब्लकर घोषित भए ।
जिएम समाज नवलपुर र जिल्ला खेलकुद विकास समिति नवलपुरको संयुक्त आयोजनामा सञ्चालित यस प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको थियो । गत सिजनको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने एपीएफ उपविजेता बनेको थियो । यस पटक भने गण्डकीले विभागीय टोलीको वर्चस्वलाई तोड्दै नयाँ इतिहास रच्न सफल भएको छ ।




















