काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा एमाले स्थानीय तहका जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य नहुने बताए । जनप्रतिनिधिले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने र वैशाखको अन्तिममा स्थानीय निर्वाचन हुनुपर्ने उनको भनाइ छ। संविधान बमोजिम पाँच वर्षमा चुनाव हुनुपर्नेमा जोड दिँदै ओलीले निर्वाचनलाई तलमाथि गरेर संविधान मिच्न भर्याङ बनाउन नहुने धारणा राखे। चुनाव कहिले गर्दा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने स्वार्थभन्दा माथि उठेर संवैधानिक बाटोमै अघि बढ्नुपर्ने उनको भनाइ छ।
त्यस्तै ओलीले अरूको कारणले विकासको गति रोकिएको, लोकतन्त्र उल्ट्याइएको र सुशासन बाँडिएको भन्दै ती विषय जनताबीच लैजान प्रतिनिधिहरुलाई निर्देशन दिए ।
उनले पार्टीभित्र बसेर उम्मेदवारलाई असहयोग गर्ने वा हराउने प्रवृत्तिलाई एमालेमा ठाउँ नरहेको स्पष्ट पारे। आफू उठे वा अर्को जो उठे पनि पार्टीले उठाएको उम्मेदवारलाई जिताउने नीति लिनुपर्ने र एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।




















